कार्यालयको परिचय:

नेपालको संविधान, २०७२ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको जिम्मेवारी र स्थानीय सरकार संचालन ऐन-२०७४ बमोजिम शिक्षा सम्बन्धी २३ वटा अधिकार स्थानीय तहलाई दिइएकोमा सो बाहेकका कार्यसम्पादन तथा जिल्लास्तरीय शिक्षाको समन्वय गर्ने प्रयोजनका लागि साविकको जिल्ला शिक्षा कार्यालयलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७४।१२।२७ को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय एकाइ स्थापना भएको हो।


शिक्षा तथा खेलकुद मन्त्रालयको च.न. ५३, २०८३।०४।२१ को पत्रानुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प.सं. २०८३/०८४, च.नं. १०, मिति २०८३/४/११ को पत्र बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८३/३/३२ को निर्णयानुसार स्वीकृत भएको सङ्गठन संरचना र दरबन्दी तेरिज साथै राष्ट्रिय किताबखाना (निजामती) को प.सं. २०८३/०८४, च.नं. १५, मिति २०८३/४/२० को पद दर्ता सम्बन्धी पत्रानुसार यस शिक्षा विकास तथा समन्वय एकाइ, बर्दियाको सङ्गठन संरचना, दरबन्दी तेरिज र कार्यविवरण स्वीकृती भएसँगै यस निकाय शिक्षा विकास तथा समन्वय एकाइको रुपमा नामाकरण भएको छ।

साविकको जिल्ला शिक्षा कार्यालयले गर्दै आएका कतिपय कार्यहरु तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यादेश र कार्यविवरणका आधारमा यस इकाइले कार्यसम्पादन गर्दै सेवाहरु उपलब्ध गराउँदछ। शिक्षा विकास तथा समन्वय एकाइ,बर्दिया नेपाल सरकारको जिल्लास्तरीय शैक्षिक समन्वय तथा सहजीकरण गर्ने निकाय हो। नेपालमा संघीय शासन प्रणाली कार्यान्वयन भएसँगै स्थानीय तहलाई आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी महत्वपूर्ण अधिकार हस्तान्तरण भएपछि साविकका जिल्ला शिक्षा कार्यालयहरू खारेज गरी जिल्लास्तरमा संघीय सरकारका तर्फबाट शिक्षा सम्बन्धी कार्य सम्पादन,समन्वय तथा सहजीकरण गर्न शिक्षा विकास तथा समन्वय एकाइको व्यवस्था गरिएको हो।

नेपाल सरकार मन्त्रिपरिषद्को वि.सं.२०७४ चैत २७ गतेको निर्णयअनुसार शिक्षा विकास तथा समन्वय एकाइ स्थापना भएको हो। प्रारम्भमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत स्थापना भएको यस एकाइलाई मन्त्रिपरिषद्को वि.सं. २०७५ पुस ९ गतेको निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत जिल्लास्तरीय संघीय कार्यालयका रूपमा व्यवस्थापन गरिएको हो।

शिक्षा विकास तथा समन्वय एकाइ,बर्दियाले संघीय शिक्षा नीति, ऐन, नियम, निर्देशिका तथा कार्यक्रमहरूको जिल्लास्तरमा प्रवाहीकरण, कार्यान्वयनमा सहजीकरण, अनुगमन तथा प्रतिवेदन गर्ने कार्य गर्दछ। साथै स्थानीय तह, विद्यालय, शिक्षक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालाबीच आवश्यक समन्वय र सहकार्य गरी जिल्लाको शैक्षिक विकासमा योगदान पुर्याउँदै आएको छ।

शिक्षा विकास तथा समन्वय एकाइका मुख्य कार्यहरु:

  • सङ्घीय शिक्षा कानुन,नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपको प्रबोधिकरण र कार्यान्वयन गर्ने कार्य,
  • सङ्घीय,प्रदेश र स्थानीय तहका सरकारहरुसँग शिक्षा सम्बन्धी कामहरुमा समन्वय गर्ने कार्य,
  • शिक्षकहरुको नियुक्ति, सरुवा, बढुवा र अवकाश व्यवस्थापन गर्ने कार्य,
  • निवृत शिक्षकहरुको निवृत्तिभरण(पेन्सन)र उपदान सम्बन्धी कामको सहजीकरण गर्ने कार्य,
  • माध्यमिक शिक्षा परीक्षा(SEE) लगायतका जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने कार्य,
  • शैक्षिक प्रमाणपत्रहरुमा नाम, थर, उमेर र हिज्जे संशोधनका लागि सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने कार्य,
  • विपन्न लक्षित छात्रवृत्ति र द्वन्द्वपीडित छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा वितरण गर्ने कार्य,
  • विद्यालयहरुको शैक्षिक गुणस्तर, पाठ्यपुस्तक उपलब्धता र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने कार्य,
  • जिल्ला भित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको विवरण एकीकृत शैक्षक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा अद्यावधिक गर्ने कार्यमा सहयोग र सहजिकरण,
  • विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक, संरक्षण र नियमन गर्ने कार्य,
  • द्वन्दपीडित छात्रवृत्तिको सुविधा उपलब्ध गराउने,
  • छोटो अवधिको विभिन्न तालिम, अभिमुखीकरण, कार्यशाला आदीको सञ्चालन एवम् समन्वय गर्ने,
  • स्थानीय तहसँगको समन्वय तथा प्रावधिक सहजीकरण गर्ने,
  • शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेका अन्य कार्य ।